नेकपाको गुटगत राजनीति । को कति शक्तिशाली ?

सत्ताधारी दल नेकपाभित्रको विवाद सतहमै आएपछि अन्ततः पार्टीका सबै कमिटी र संसदीय दलमा टाउको गन्ने अवस्था देखिएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच पहिले कानेखुशी अहिले बोलचाल नै बन्द भएपछी पार्टी नेता र सांसदका टाउका नै गनेर शक्ति प्रदर्शन शुरु भएको हो ।

सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद हेरफेर र संवैधानिक नियुक्तिमा मात्रै होइन पार्टीमा समेत चलखेल सुरु गरेपछी अध्यक्ष प्रचण्डसहित माधव नेपाल र झलनाथ खनाल समूहले पनि अब टाउका गनेर बहुमतले ओली हटाउने अभियान चलाएको स्रोतको दावी छ । दशैंको फुर्सदमा नेकपाका शीर्ष नेताहरु नै आफ्नो पक्षमा कति छन् भनेर टाउको गन्‍न व्यस्त रहेको नेकपाकै नेताहरुको भनाई छ ।

टाउका गन्ने अभियान पूर्वमाओवादीमा भने नौलो होईन । जनयुद्धपछि शहर छिरेको माओवादीले जब सत्ताको स्वाद लिन थाल्यो अनि यो पक्ष र त्यो पक्ष भनेर टाउका गनेर प्रचण्ड जहिल्यै शक्तिशाली देखिन चाहन्थे भन्दै पूर्वमाओवादी पक्षका एक नेताले भने–‘अहिले टाउकै गन्ने हो भने केपी ओली पक्ष पार्टी वा संसदमा बहुमत होइन बराबरीमा पनि छैनन् ।’ कुनै पनि ठाउँमा बहुमत नहुँदा पनि ओली कसरी शक्तिशाली बन्दै गैरहेका छन् ? भन्ने प्रश्न पनि नेकपा भित्र उठ्न थालेको ती नेताले बताए ।

नेकपामा एकताको महाधिवेशन नहुँदासम्म ओली र प्रचण्ड अध्यक्ष, ९ जनाको सचिवालय, ४५ जनाको स्थायी कमीटी र ४ सय ३९ जनाको केन्द्रिय समीती छ । केही नेता पार्टी जिम्मेवारीमा छैनन् । सभामुख अग्‍नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनासहित प्रदेशका सभामुख पार्टीको कमिटीमा छैनन् । पार्टी सचिवालयमा ओली पक्षमा खुलेका ओलीबाहेक २ जना मात्रै छन् । ईश्वर पोखरेल र विष्णु पौडेल ओली पक्षमा खुलेका छन् । ४५ जनाको स्थायी कमीटीमा ओली पक्षका १४ जना मात्रै रहेको र केन्द्रीय समितीमा पनि ओली पक्ष कमजोर रहेको स्रोतको दावी छ ।

यता संघीय संसदमा ओली पक्ष कमजोर छ तर संघीय सरकारमा ओली पक्षको बहुमत छ । त्यसैगरी नेकपाले नेतृत्व गरेको ६ प्रदेश मध्य ओली पक्षको ४ जना मुख्यमन्त्री छन् । प्रदेश १ का शेरधन राई, बागमती प्रदेशका डोरमणी पौडेल, गण्डकीका पृथ्वीसुब्बा गुरुङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल ओली पक्षका नेता हुन् । कर्णाली प्रदेशका महेन्द्रबहादुर शाही र सुदुरपश्चिम प्रदेशका त्रिलोचन भट्ट कार्यकारी अध्यक्ष प्रचण्ड निकटका हुन् । मुख्यमन्त्रीमा माधव नेपाल र झलनाथ खनाल पक्षको शून्य छ ।

पछिल्लो समय कर्णाली प्रदेशमा समेत ओली पक्षका नेता यमलाल कँडेलले मुख्यमन्त्री शाही विरुद्ध अविश्वास प्रस्ताव ल्याएर आफैं मुख्यमन्त्री बन्ने योजना बनाए पनि हाल उक्त योजना तुहिएको छ । पूर्व एमालेको पार्टी कमीटीमा गण्डकी, लुम्बिनी र राप्तीमा बढी प्रभाव रहेको ओली पक्ष एकाएक कसरी शक्तिशाली बन्दै गयो भन्ने नेकपामा अर्को बहस छ ।

प्रदेश १ मा त ओली पक्ष भन्दा माधव–झलनाथ पक्ष बलियो छ । त्यसमाथी पूर्व माओवादी सबै त्यही पक्षमा थपिँदा समेत ओली पक्षका राईले मुख्यमन्त्रीमा बाजी मार्नुले ओलीको अदृश्य शक्ति कति रहेछ भन्ने बुझ्न सकिन्छ । यता बागमती प्रदेशमा समेत ओली पक्ष भन्दा प्रचण्ड–माधव पक्ष नै बलियो छ । तर, पनि मुख्यमन्त्रीमा ओलीका विश्वासपात्र डोरमणि पौडेल नै छन् ।

नेकपामा अब टाउका गनेर ओली पक्षलाई कमजोर देखाउने प्रयत्नसँगै पार्टी विभाजनको अवस्था समेत आउनसक्ने नेताहरुको बुझाई छ । तर, यो समयमा पार्टी फुट्न सजिलो छैन । ओलीले आफु पार्टी नफुटाउने तर फुटाएर जानेलाई नरोक्ने रणनीति बनाएका छन् भने प्रचण्ड–नेपाल पक्षले पनि पार्टी विभाजन सजिलो नभएको भन्दै आफुहरु फुटाउने पक्षमा होईन भन्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here