काठमाडाैं । प्रतिनिधि सभाको उपसभामुख पदका लागि शुक्रबार मतदान हुँदैछ। उपसभामुख निर्वाचनका लागि दिउँसो ३ बजे प्रतिनिधि सभा बैठक बस्दैछ।
उपसभामुख पदका लागि सत्ता गठबन्धनबाट पुष्पा भुसाल र एमालेबाट विद्या भट्टराई प्रतिस्पर्धी छन्। भुसालले पहिलो नम्बरमा र भट्टराईले दोस्रो नम्बरमा उम्मेदवारी दर्ता गराएका छन्।
दर्ता क्रम अनुसार शुक्रबारको प्रतिनिधि सभा बैठकमा भुसाललाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सुरुमा प्रस्तुत हुनेछ। सो प्रस्ताव देवप्रसाद गुरुङले प्रस्तुत गर्नेछन्। त्यस्तै, लक्ष्मीकुमारी चौधरीले समर्थन गर्नेछिन्।
त्यसपछि दोस्रो दर्ता क्रममा रहेकी भट्टराईलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ। सो प्रस्ताव शान्ता चौधरीले प्रस्तुत गर्नेछिन्। र, कृष्णभक्त पोखरेलले समर्थन गर्नेछन्।
प्रतिनिधि सभा नियमावलीअनुसार, दुवै प्रस्तावमाथि संक्षिप्त छलफल हुनेछ। र, सभामुखले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्। मत निश्चित गर्नका लागि दस्तखतसहितको मत विभाजन प्रक्रिया (मतदान) अपनाइनेछ।