जनार्दन शर्मा प्रकरण : संसदीय विशेष समितिको सभापति चयन गर्न बैठक बस्दै

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन भएको संसदीय विशेष समितिको दोस्रो बैठक आज बस्दैछ । बैठक सिंहदरबारस्थित संसदको अर्थ समितिको सभाकक्षमा दिउँसो साढे २ बजेका लागि बोलाइएको छ ।

आजको बैठकको कार्यसूची समितिको सभापति चयन गर्ने रहेको छ ।  ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको संयोजकत्वमा बसेको पहिलो बैठकले कार्यविधि पारित गरे पनि सभापति चयन नगरी सकिएको थियो ।

सत्तापक्ष र प्रतिपक्ष दुवैले दाबी गरेपछि सभापति चयन लम्बिएको हो । आजको बैठकले सभापति चयन गर्ने समितिका सदस्यहरूले बताएका छन् ।

अर्थमन्त्री हुँदा शर्माले अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेपछि विवाद सुरु भएको थियो । सोही विवादका कारण शर्माले असार २२ गते राजीनामा दिइसकेका छन् ।

प्रतिनिधि सभा नियमावली २०७५ मा आवश्यकता अनुसार विशेष समिति गठन गर्नसक्ने व्यवस्था छ । संसदमा शर्मालाई राजीनामा गराएर छानबिन समिति गठन गर्न माग उठेपछि सोही व्यवस्था अनुसार शर्मामाथि छानबिन गर्न ११ सदस्यी समिति गठन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here